सुनाखरी न्युज/ काठमाडौं । क्रिसमसकाे अवसरमा जावलाखेलस्थित सेन्टमेरिज स्कूलले शुक्रबार अन्तरधार्मिक प्रार्थना कार्यक्रमकाे आयाेजना गरेकाे छ। उक्त कार्यक्रमको उद्देश्य शान्तिको वास्तविक अर्थलाई बुझ्ने र बाच्ने तथा एकता र सामुहिकताको महत्वलाई फैल्याउने रहेको आयोजकले बताएका छन्।
आयोजकमध्ये एक जया सुब्बाका अनुसार बेग्लाबेग्लै धर्मले बेग्लाबेग्लै दर्शन फैल्याए पनि सबै धर्मको मूल मर्म भने शान्ति स्थापना हो भन्ने बुझाउन यस्तो कार्यक्रम आयोजना गरेको हो। सेन्टमेरिज स्कूलले पहिलो पटक अन्तर्धार्मिक प्रार्थना कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा विभिन्न धर्मका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। शान्तिलाई सबै धर्मको एकल दर्शनका रूपमा अंगिकार गर्न बिसप पल सिमिकको पहलमा आयोजना भएको कार्यक्रममा इमामुद्दिन खानले कुरानको शन्देश वाचन गरेका थिए।
स्कूलका शिक्षिका पुष्पा थापामगरले हिन्दु धर्ममा शान्तिको अवधारणाबारे व्याख्या गरेकी थिइन्। शिख धर्मका गोविन्द पाश्मानले इश्वरको एक रूपको बारेमा बताएका थिए। भिक्षु कौन्डान्यले जति जटिल मानव सभ्यता बन्दै जान्छ त्यतिनै समस्या थपिँदै जाने बताउँदै सरल बन्न प्रेरित गरेका थिए।