२०८१ आश्विन ६ , आइतवार

‘डिसेम्बर फल्स’ को गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं ।अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘डिसेम्बर फल्स’ को गीत सार्वजनिक भएको छ। शनिबार म्युजिक डटकम युट्युब च्यानलमार्फत ‘यो के भयो’ बोलको गीत सार्वजनिक गरिएको हो।

अस्मिता अधिकारी र मनिष ढकालको स्वर रहेको गीतमा आर्यन र उपासनालाई देख्न सकिन्छ। सुशान्त गौतम र अनिल शर्माको शब्द रहेको गीतमा सुशान्तले संगीत भरेका छन् भने संगीत संयोजन रिकेश गुरुङको रहेको छ। यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। फिल्ममा चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल घेराउ गरेको कथालाई देखाइएको छ।

फिल्ममा उपासनालाई नर्सको भूमिकामा देख्न सकिन्छ। रोमान्टिक थ्रिलर जनरामा निर्माण भएको फिल्ममा आर्यन र उपासनासँगै सलोन बस्नेत, शिवहरि पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमिन गुरुङ, जयन कुँवर, सुमन थापालगायत कलाकारको अभिनय छ।

फिल्मको कथा बिपिका खनालले तयार पारेकी हुन्। रामप्रसाद रिजाल प्रस्तुतकर्ता तथा निर्माता रहेको फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन्। हेश आर गुप्ताले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन्। यो फिल्म पुस १५ गतेदेखि प्रदर्शन हुनेछ।