सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी छन् ।
स्रोतका अनुसार राष्ट्रपतिले प्रचण्डलाई आज सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी हुन् । प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको पनि शपथ आजै हुने जनाइएको छ । आईतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका गरि १७० सांसदहरुको समर्थनमा बहुमतको प्रधानमन्त्री दावी गरेका थिए ।
उक्त दाबीलाई स्वीकृत गर्दै राष्ट्रपति कार्यालयले सोमबार प्रधानमन्त्रीको शपथ गराउन लागेको हो । प्रधानमन्त्री नियुक्त भएको एक महिनापछि प्रचण्डले प्रतिनिधिसभामार्फत विश्वासको मत लिनुपर्नेछ ।