२०८१ मंसिर १३ , बिहिवार

दौरा सुरुवालमा शपथ लिने प्रचण्डको तयारी

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा शपथ गराउँदैछिन् ।

 

राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको शपथ लिनेछन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्न लागेका प्रचण्डले दौरा सुरुवालको भेषमा यो पटक शपथ लिन लागेको बुझिएको छ । यो पटकको उनको दौरा सुरुवाल भेषले भने फरक वातावरण बनाउने निश्चित छ । किनकी प्रचण्ड प्राय सुटकै भेषमा प्रस्तुत हुने नेपाली नेता हुन् ।

 

प्रचण्डले विगतमा शपथ ग्रहण गर्दा सुट नै लगाउने गरेका थिए । या भनौ उनले यसअघि औपचारिक कार्यक्रममा समेत दौरा सुरुवाल लगाउने गरेका थिएनन् । ‘दौरा सुरुवाल फिट हुन्छ कि हुँदैन भनेर हेर्न बाँकी छ । यद्यपि तयारीका लागि आइतबारै नापो लिएर दौरा सुरुवाल सिलाउन पठाइएको छ,’ प्रचण्डको सचिवालयले भन्यो । सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको जनाइएको छ ।