सुनाखरी न्युज/ काठमाडौं । संघीय संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने जनाएका हुन् ।
उनले भने, ‘हामी अहिले सरकारमा सहभागी नहुने भनेका छौं । बाहिरबाटै समर्थन गर्ने निर्णय गरेका छौं ।’ राप्रपा सरकारमा सहभागी नहुने भएपछि अब गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहभागी हुने भएका छन् ।
त्यस्तै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन् ।