२०८१ मंसिर ८ , शनिवार

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्रै सक्न कुलमानको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको समग्र निर्माण ७० प्रतिशत सकिएको छ ।

 

निर्माणाधिन प्रसारण लाइन र सबस्टेसनहरुको अवलोकन गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चैतभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न तथा कामदार थपेर कामलाई तिव्रता दिन उनले निर्देशन दिए । घिसिङले ठेकेदारले बेहोरिरहेको नगद प्रवाह, सामाजिक समस्या समाधान गर्न आवश्यक सहजीकरण गरिने प्रतिबद्धता पनि जनाए ।

 

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, रसुवाको चिलिमे –त्रिशूली थ्री बी हब २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ । दुवै सबस्टेसनको सिभिल संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएसलगायतका महत्त्वपूर्ण उपकरणहरु आयोजना स्थलमा ल्याइसकिएको छ । प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेको छ ।

 

कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधिन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । ‘यसै प्रसारण लाइनमा जोडिने तीन वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्, चैत भित्रमा ती आयोजनाहरुको निर्माण सकिने हुँदा त्यसभन्दा अगाडि नै सबस्टेसन तथा प्रसारण लाइन निर्माण गरिसक्नु पर्ने चाप छ’ घिसिङले भने । उनका अनुसार कुल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरुमध्ये ४३ वटाको जग हालिएको छ । १४ वटा टावरहरुको जग हाल्ने काम भइरहेको छ । २५ वटा टावर खडा गरिएको छ ।

 

ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले अहिले आयोजनाको निर्माणमा तिव्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे हबमा जोडिने छ । आयोजनाहरु चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहेको छ ।