२०८१ कार्तिक ३० , शुक्रवार

म अपमानित भएर पोखरा आएको हुँ : गगन थापा

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् ।

 

सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै थापाले आफू अपमानित भएर पोखरा आएको बताएका हुन् । महामन्त्री थापालाई मोडरेटर वसन्त बस्नेतले तपाई पोखरा हारेर आउनुभएको कि जितेर ? भन्ने प्रश्न गरेका थिए । थापाले जवाफमा ‘यो भन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हारेजस्तो भन्ने छ । त्यो ठ्याक्कै मलाई फिट हुने जस्तो छ । मलाई फिट हुने चाहिँ त्यो सेसन हो । मेरो आफ्नो व्यक्तिगत कुरा चाहिँ लुडोमा भर्‍याङ चढेर अलिकति माथि पुगेको, अनि विश्व दाइ र प्रदीपले समर्थन गरेपछि थप भर्‍याङ चढौँला भनेर सोचेको नागबाट एकैचोटी झरेर तल आएको जस्तो भएको छ,’ थापाले भने ।

 

उनले नेपाली कांग्रेस राजनीतिको शिखरमा पुगेर एकैचोटी तल पुगेको बताएका छन् । थापाले नेपाली कांग्रेसको कार्यकर्ता भएर हेर्दा कांग्रेस एकैचोटी तल खसेको टिप्पणी गरेका हुन् । ‘नेपाली कांग्रेसको कार्यकर्ताको हिसाबले हिजोका घटना चाहिँ लुडोमा ९९ तिर पुगेपछि एउटा नाग हुन्छ नी, खेल्दै खेल्दै गएको त्यहाँ पुग्ने बेलामा एकैचोटी तल झरेको जस्तो भएको छ । व्यक्ति गत रुपमा म नढाँटी भन्छु । बिहानदेखि मैले सभापतिको फोन कुरिरहेको थिए । उहाँले कल गर्नुभएन,’ थापाले भने, ‘उहाँले गठबन्धनको बैठकमा पार्टीमा कुरा गर्छु भन्नुभएको रहिछ । तर, हामीसँगै कुरा गर्नुभएन ।’