सुनाखरी न्युज/ काठमाडौं ।गम्भीर बिरामी भएपछि अस्पताल भर्ना गरिएका बाल कलाकार सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ । उनीसँग निकट रहेका सञ्चारकर्मी कृष्ण कंडेलले सचिनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जानकारी दिएका छन् ।
‘बाल कलाकार सचिन परियारको स्वास्थ्यमा दैनिक सुधार हुँदै गएको र आज बिहान उठेर खाने कुरा मागेर आफै खाएका छन्’ – कंडेलले फेसबुकमार्फत जानकारी दिएका छन् ।अचानक हात गोडा चल्न छाडेपछि सचिनलाई केही दिनअघि टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएसँगै आईसीयूमा राखेर उनको भइरहेको छ । काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो ।
छोरो बिरामी भएसँगै पोखरामा रहेकी आमा काठमाडौं आएर छोराको उपचारमा खटिएकी छिन् । छोराको उपचारका लागि आफूसँगै पैसा नभएको भन्दै सहयोग गर्दै अनुरोध गरेकी थिइन् । त्योसँगै उनको उपचारका लागि थुप्रैले आर्थिक सहयोग गरेका छन् । ईशा फाउण्डेशन नेपालले सचिनको उपचारका लागि सहयोग अभियान चलाएको थियो । सचिनको स्वास्थ्यमा सुधार आएसँगै फाउण्डेशनले सहयोग अभियान रोकेको छ ।
भाइरल बाल कलाकार सचिनले केही लोकदोहोरी गीत गाउनुका साथै थुप्रै भिडियो एवं टेलिसिरियलमा समेत अभिनय गरेका छन् । अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियोमा अभिनय गरेका उनी एकतामा मेला महोत्सवमा समेत खोजिन्थे । उनका भिडियोले युट्युबमा लाखौं भ्युज पाउँदै आएका थिए । पछिल्लो दुई वर्षयता भने उनी गुमनामजस्तै थिए ।