२०८१ मंसिर १४ , शुक्रवार

सुनचाँदी धितो राखेर ५० अर्ब कर्जा प्रवाह

Gold

सुनाखरी न्युज/ काठमाडौं । सुनचाँदी धितो राखेर नेपालमा ५० अर्ब रुपैयाँ माथि कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कार्तिक महिनासम्मको तथ्याङ्क हेर्दा ५० अर्ब ६० करोडको कर्जा प्रवाह भएको हो ।

 

असोज महिनासम्म ५० अर्ब १९ करोड बराबरको सो कर्जा प्रवाह भएको थियो । एक महिनामा यो प्रकृतिको कर्जा करिव ४० करोडले वृद्धि भएको छ । सुनचाँदी धितो राखेर प्रवाह भएको कर्जा मध्ये वाणिज्य बैंकहरुको सार्वाधिक हिस्सा रहेको छ । नेपालका वित्तीय सस्थाले प्रवाह गरेको यस्तो प्रकृतिको कर्जा मध्ये करिव ९० प्रतिशत वाणिज्य बैंकले प्रवाह गरेका छन् । वाणिज्य बैंकले सुन, चाँदी धितो राखेर ४५ अर्ब ४९ करोड कर्जा प्रवाह गर्दा विकास बैंकले ४ अर्ब ११ करोड र वित्त कम्पनीहरुले ९९ करोड सो कर्जा प्रवाह गरेका छन् ।

 

आर्थिक वर्ष २०७६/७७ सम्ममा ३८ अर्ब ४२ करोडको कर्जा सुन, चाँदी धितो राखेर प्रवाह भएकोमा अर्को वर्षसम्म ४३ अर्ब ११ करोडको सो कर्जा प्रवाह भएको थियो भने आर्थिक वर्ष ७८/७९सम्ममा ५२ अर्ब ७८ करोडको सो कर्जा प्रवाह भएकोमा अहिले कार्तिक मसान्तसम्म आउँदा केही घटेको छ । साउन देखि कार्तिकसम्म करिव २ अर्बले सुनचाँदी धितो राखेर प्रवाह गरिने कर्जा घटेको देखिन्छ ।