२०८१ आश्विन ६ , आइतवार

नेपथ्य लाइभ कन्सर्ट आज पोखरामा

सुनाखरी न्युज/ काठमाडौं । पोखरामा आज नेपथ्य लाइभ कन्सर्ट हुँदै छ। पोखराको हेमजामा निर्माणधीन मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आज कन्सर्ट हुन लागेको हो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपराह्न ४ बजेदेखि ८ बजेसम्म लाइभ कन्सर्ट हुने छ। नेपालको चर्चित सांगीतिक समूह नेपथ्यका अमृत गुरुङ यतिबेला आप्नै घर आँगन पोखरामा मानवताका लागि कन्सर्टको तयारीमा छन्।

कन्सर्टको पूर्व सन्ध्यामा गायक गुरुङले मानव सेवाका लागि बन्दै गरेको मानव मन्दिर निर्माण गर्न सक्नेले धन र नसक्नेले श्रम दिन अनुरोध गरे। संसारमा सबैभन्दा ठूलो धर्म सेवा भएको पनि गायक गुरुङले उपस्थित माझ भावुक हुँदै भने। आफ्नो बाल्यकाल सम्झदै गायक गुरुङले बिहानै हिमाल खुलेको, चरा उडेर गएको दृश्यबाट सुरु गरेर पोखराका पुराना चैर सम्झिए। त्यती बेलाका ठूला ठूला सिमलका रुख सम्झिए। उडेका सिमलका फूलका भूवा पछ्याउँदै दौडेको विगत सम्झिए। अहिले ती रुखहरू छैनन्, त्योबेला अहिले छैन, ती रुख जस्तै एक दिन हामी पनि हराएर जानेछौं भन्दै सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताए।

मानव सेवा आश्रमका प्रमुख संरक्षक गोविन्द टण्डनले पोखरामा ८४ रोपनी क्षेत्रमा मानव सेवा आश्रम बन्न लागेको बताए। ‘जस्को घर छैन, कोही छैन, सडक पेटिमा बस्नुपर्ने अवस्था छ उहाँहरुका लागि आश्रम बन्न लागेको हो’ उनले सुनाए। छाना, नाना र खाना मात्र होइन आश्रमले यस्तो अस्था अन्य परिवारमा नदोहोरियोस् भनेर तालिम पनि दिइने बताए। मानव सेवा आश्रम पोखरामा सबैले एक पटक आएर अध्ययन गर्ने घुम्न आउने स्थानका रूपमा विकास गर्न १ अर्बको गुरुयोजना रहेको पनि उनले बताए। आश्रममा यतिबेला १०५ जना रहेका छन्।