२०८१ आश्विन ६ , आइतवार

खेलकुदमन्त्री दीपक मनाङे फिल्म ‘हात्तीछाप’को निर्माता बन्ने

सुनाखरी न्युज/काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे फिल्म ‘हात्तीछाप’को निर्माता बन्ने भएका छन् । दयाहाङ राई र सौगात मल्लको अभिनय रहने फिल्मलाई मनाङेले निर्माण गर्ने टुंगो लागेको हो ।सिमोस सुनुवारले निर्देशन गर्ने यो फिल्मको छायांकन चैतदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ ।

 

एक्सन थ्रिलर फिल्ममा पुष्कर गुरुङ, बुद्धि तामाङ र प्रकाश घिमिरेको समेत अभिनय हुनेछ ।निर्माताको रुपमा हात्तीछाप मनाङेको चौथो प्रोजेक्ट हुनेछ । यसअघि उनले फिल्म वान वे, पोइ पर्‍यो काले र दुई नम्बरी निर्माण गरेका छन् । दुई करोड रुपैयाँ बजेटमा बन्ने हात्तीछाप निर्माणमा मनाङेले व्यवसायी अमलादेवी राईसँग सहकार्य गर्नेछन् ।

 

‘तेस्रो प्रोजेक्टमा हामी उहाँसँग सहकार्य गर्दैछौं,’ प्रस्तुतकर्ता किरण नेपालीले भने, ‘यो सहकार्य अझै मजबुत हुनेछ भन्ने हाम्रो आशा छ ।’ यी दुईको सहकार्यमा बनेको दुई नम्बरी वर्ष २०७९ को हिट फिल्म हो भने पोइ पर्‍यो कालेले मनाङेलाई निर्माताको रुपमा स्थापित गरेको थियो ।