सुनाखरी न्युज/काठमाडौं । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ ।
नारायणी नदीमा सञ्चालन भएको मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको भीड बढ्दै गएको व्यवसायी बताउँछन् । चितवन भएर यात्रा गर्नेहरू नारायणी नदीमा मोटरबोटको मज्जा लिएर जाने गरेका छन् । नदी किनारमा मोटरबोट चढ्नका लागि सामान्य दिनको तुलनामा बिदाको दिनमा आन्तरिक पर्यटकहरू धेरै आउने गरेमने रङ्गमहल रिभरल्याण्ड प्रालिका क्याप्टेन विजय तामाङले बताए । नारायणी किनारमा बिहानको समयमा मर्निङ वाक र योग गर्नेको चाप हुन्छ । दिउँसो भने सबै उमेर समूहका मानिस यहाँ आउने गरेका छन् ।
मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको छन् । शनिबारको दिन भने बढी आउने गरेका छन् । भरतपुर महानगरपालिका-१ का वडासदस्य मनोज घिमिरेले मोटरबोट र नदी किनार व्यवस्थित गराउने काम गरिएको बताए । उनले किनारमा व्यापार व्यवसाय गर्ने र घुम्ने ठाउँलाई निश्चित क्षेत्र तोकेर काम गरिएको जानकारी दिए। केन्द्र सरकार र महानगरपालिकाले बजेट विनियोजन गरेर नदी किनारलाई आकर्षक बनाउने काम भइरहेको उनले बताए।