२०८१ मंसिर १ , शनिवार

अध्यक्ष ओलीलाई सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मा

सुनाखरी न्युज/ काठमाडौं । सत्ता साझेदार दलले पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

 

न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तय गर्ने, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ । हरेक राजनीति दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ । यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूलाई अघि बढाउने निर्णय भयो ।’

 

उहाँले बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा पनि छलफल भएको जानकारी दिनु्भयो । आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको गृहमन्त्री लामिछानेले जानकारी दिनुभयो । गृहमन्त्री लामिछानेले सरकार केका लागि हो भन्ने कुराको तय गर्न न्यूनतम साझा कार्यक्रम बनाइन लागेको बताउनुभयो ।