सुनाखरी न्युज/ काठमाडौं । काठमाण्डू उपत्यकासहित देशका विभिन्न भागमा अहिले चिसो बढ्दो क्रममा रहेको छ। चिसो बढेसँगै मानिसहरूले अब कति दिनसम्म यस्तो जाडो कायम रहला भन्ने चासो व्यक्त गरिरहेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यो वर्षको जाडो भर्खरै सुरु भएको छ। त्यसले गर्दा अबको करिब एक महिनासम्म उपत्यकासहित विभिन्न भागमा चिसो हुने क्रममा खासै कमी नआउन सक्छ।मौसमविद्का भनाइमा यो वर्षको हिउँदमा गत वर्षको तुलनामा वर्षा कम हुने अनुमान गरिएकाले पानी परेर हुने जाडो गत वर्षको तुलनामा कम पनि हुनसक्छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साता नेपालका कैयौँ हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना देखिएको छ। त्यस्तै पहाडी क्षेत्रमा तुवाँलो लाग्ने र केही स्थानमा वर्षाको सम्भावना देखिन्छ भने तराई क्षेत्रमा पनि हुस्सु लाग्ने देखिएको छ।
आइतवार साँझ महाशाखाले जारी गरेको तीन दिने मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। त्यसले गर्दा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना भएको हो भने अन्य क्षेत्रमा सामान्य वर्षाको सम्भावना भएको हो। यद्यपि वर्षा गराउनका लागि व्यापक प्रणाली विकास भएको नदेखिएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।
काठमाण्डू उपत्यकामा गत साता यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम पुगेको थियो। त्यसबेला उपत्यकामा तापक्रम ३.४ डिग्री सेल्सिअस भएको उनले बताए। त्यस्तै अहिले देशका केही भागहरूमा जस्तै जुम्ला र जोमसोमजस्ता मौसमसम्बन्धी जानकारी दिने केन्द्र भएका स्थानमा न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सिअससम्म पुगेको उनले बताए। यो क्रम अझै बढ्ने पौडेलले जानकारी दिए। उनले भने, “पुस १५ देखि माघ १५ सम्म नेपालमा धेरै जाडो हुने ठानिन्छ। त्यस्तो जाडो भर्खर सुरु भएको छ त्यसैले यो करिब एक महिना रहन्छ।”