२०८१ पुष २८ , आइतवार

पुस २५ गते एकीकृत कारोबार गर्ने ग्लोबल आइएमई बैंक र बिओकेको तयारी

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू (बिओके) ले आगामी पुस २५ गते एकीकृत कारोबार गर्ने तयारी गरेको छ । बैंकको आन्तरिक छलफलले पुस २५ गते नै एकीकृत कारोबार गर्ने तयारी गर्ने पनि राष्ट्र बैंकबाट स्वीकृति आउन बाँकी रहेको बैंक स्रोतले जनाएको छ ।

 

‘हाम्रो तयारी चाहिँ पुस २५ गते नै गर्ने भन्ने हो तर राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि समय तोक्न बाँकी छ ।’ राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको १५ दिन भित्रै एकीकृत कारोबार गर्नुपर्ने नियमकीय व्यवस्था छ । जसअनुसार यी बैंकहरुले २९ गतेसम्म एकिकृत कारोबार गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूलाई प्राप्तीको अन्तिम स्वीकृति दिइसकेको छ । केन्द्रीय बैंकको पुस १५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले यी बैंकहरुको मर्जर तथा प्राप्ती प्रक्रियामा अन्तिम स्वीकृति दिएको हो ।

 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमति भएको थियो। २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। मर्जरको निम्ति सेयर स्वाप अनुपात १:१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्। मर्जरपश्चात् बन्ने नयाँ बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनेछन् । सञ्चालकमा ग्लोबलबाट ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।