सुनाखरी न्युज/ काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गरेका छन् ।
मंगलबार कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका थिए । छिटो र झन्झटरहित सेवा प्रवाहका लागि उनले कर्मचारीलाई निर्देशन दिएका छन् । साथै सेवाग्राहीसँग पनि पाइरहेको सेवा र गुनासोबारे पनि जिज्ञासा राखेका थिए । उनले सवारी चालक अनुमति पत्रका लागि भइरहेको लिखित तथा ट्रायल परीक्षाको पनि निरीक्षण गरेका छन् ।
उनले मन्त्रालय सम्हालेलगत्तै भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको उल्लेख गर्दै भनसुन र घूस नखुवाई काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए । उनले सोमबार पनि आफ्नो मन्त्रालयमा १० बजे कार्यालय उपस्थित नहुने कर्मचारीको तलब काट्ने चेतावनी दिएका थिए ।