२०८१ पुष २७ , शनिवार

एउटै टोलमा चारजना बालबालिकामा दादुरा

सुनाखरी न्युज/ काठमाडौं । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ७ मा एउटै टोलमा चारजना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ उमेर समूहका तीन बालिका र एक बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

 

ती मध्ये तीनजना एउटै घर परिवारका हुन् । एउटै परिवारका तीनसहित चारजनामा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालयको टोली पुगेर शङ्कास्पद दादुराका विरामीहरुको खोजी गरिरहेको छ । टोलमा १५ जना शङ्कास्पद भेटिएकोमा पाँच जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चारजनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी विकल्प चौधरीले जानकारी दिनुभयो । एउटा टोलमा पाँच जनासम्ममा दादुराका विरामी फेला परेमा महामारीको रुपमा लिने गरिएकोमा एउटै घरमा चारजनामा दादुराका विरामी भेटिएकाले स्वास्थ्य कार्यालयले महामारीको रुपमा लिँदै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

 

“दादुराको खोप नलगाएका र पुरा खोप नलगाएका बालबालिकामा दादुरा देखिन्छ,” स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाईजर नरेश श्रेष्ठले भन्नुभयो,– “एउटै परिवारमा धेरैमा दादुरा देखिएकाले गम्भीररुपमा लिएर स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।”नेपालमा सन् २०२३ भित्र दादुरा उन्मूलन गर्ने सरकारी लक्ष्य रहेको भए पनि अहिले पनि दादुराका विरामीहरु भेटिन थालेपछि लक्ष्य पुरा गर्न चुनौती हुने देखिएको छ । दादुरा उन्मुलनको लक्ष्यअनुसार प्रति हजारमा एकजना भन्दा कम बालबालिकामा दादुरा झार्नु हो ।