२०८१ मंसिर १३ , बिहिवार

तराईमा चिसो , बालबालिकादेखि मजदुरसम्म प्रभावित

सुनाखरी न्युज/ काठमाडौं । तराईमा चिसो र शितलहरका कारण जनजीवन कष्ठकर बनेको छ । कठयांङग्रिदो चिसोका कारण चोक, बजार र बाटोमा सर्वसाधारणको आवतजावत निक्कै कम हुन थालेका छन् । स्थानीय अस्पतालहरुमा ज्वरो र निमोनियाका विरामी बढेको चिकित्सक बताउँछन् । चार दिनदेखि चलेको शितलहर र हुुस्सुको कारण जनकपुरको जनजीवन अस्तव्यस्त बनेको छ । बालबालिका र बृद्ध बृद्धाहरु विरामी पर्न थालेका छन् । हवाई सेवा प्रभावित भएको छ । जनकपुरधाम उपमहानगर पालिका तीन दिनका लागी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

जाडोको कारण बालबालिकाहरु शिताङ, कोल्ड डायरीया, निमोनिया लगायतका विरामीबाट प्रभावित हुन थालेका छन् । बृद्ध बृद्धाहरुमा दम, रुघा खोकी, वाथ, निमोनियाका लक्षण देखिन थालेका छन् । प्रादेशिक अस्पताल जनकपुरमा क्षमता भन्दा अधिक बालबालिका भर्ना हुन थालेका छन् । बढ्दो जाडो र शितलहरलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगर पालिकाले आजदेखि तीन दिनसम्मका लागी सामुदायिक विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ । चौक चौकमा धुनी लगाउने व्यवस्था समेत गरेको छ । शितलहरसंगै चिसो बढेपछि बालबालिका विरामी हुन थालेपछि कपिलवस्तुका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । यशोधरा र शुद्धोदन गाउँपालिकाले आजदेखि आगामी ३० गतेसम्म जाडो बिदा दिएका छन् । कृष्णनगर नगरपालिकाले पनि भोलीदेखि आगामी ३० गतेसम्म विद्यालय बन्द गरिएको छ ।

सप्तरीमा खासगरि मजदुरी गरेर दैनिक जिबिकोपार्जन गर्नेहरुका लागि थप कष्टको अबस्था सृजना भएको छ । चिसोका कारण कामकाज ठप्प भएपछि न्यून बर्गीय परिवार सवैभन्दा बढी प्रभावित भएका छन् । विष्णुपुर गाउँपालिका २ जमुनीका ४७ वर्षिय प्रेम यादवको चिसोकै कारण मृत्यु भएको छ । गोठमा रहेको बाँसको मचानमा पराल ओछयाएर पातलो लुगा ओढी सुतेको अवस्थामा उनको मृत्यु भएको हो । वालवालिका र बृद्धबृद्धा पछिल्लो समय अस्पताल आउने क्रम बढेको छ ।