२०८१ मंसिर १ , शनिवार

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं । सत्ता सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । केही दिन अघि अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्न समिति बनेको थियो ।

 

सो कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । आज कार्यदलको बैठक बस्ने र केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरि तयारी भइरहेको र अन्तिम चरणमा पुगिसकेको जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिनेछन् । उक्त विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउन लागिएको हो ।

 

न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या, रोजगारी सिर्जना, पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको जनाइएको छ । यो कार्यक्रमको उदेश्य सात राजनीतिक दलको सरकार भएकोले सरकार सञ्चालनमा कुनै व्यवधान नहोस् भन्ने हो । र, सबै दलले सरकारको काम कारवाहीमा अपनत्व लिन सकुन भन्ने द्येयले यसको अवधारणा ल्याइएको हो । वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन् ।

 

सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न बनेको समिति सदस्यमा भने माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहेका छन्। सत्ता साझेदार दलहरुको राय सुझावका आधारमा कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछन् ।