२०८१ मंसिर १० , सोमवार

चालु पुँजी कर्जाबारे सम्बोधन गर्दै राष्ट्र बैंक

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाबारे सम्बोधन गर्ने भएको छ । यसका लागि अपह्रान्ह ३ बजे पत्रकार सम्मेलन गर्न लागेको छ ।

 

राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थामा सहजीकरण गर्नेबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेको हो । बुधबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको थियो । छलफल चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा केन्द्रित थियो ।

 

लामो समयदेखि उद्योगी व्यवसायीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे विरोध जनाउँदै आएका छन् । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा कुल कारोबारको २५ प्रतिशतसम्म उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण पाउने व्यवस्था छ । जुन व्यवस्थाका कारण आफूहरु ऋण पाउनबाट वञ्चित भएको भन्दै व्यवसायीले विरोध गर्दै आएका थिए ।