२०८१ पुष ९ , मंगलबार

भक्तपुरको लोकेश्वर महादेव मन्दिर शिलान्यास

सुनाखरी न्युज/ काठमाडौं । भक्तपुर नगरपालिकाका वडा नं. ७ हनुमानघाटस्थित लोकेश्वर महादेव पुनःनिर्माण कार्यका लागि बुधबार शिलान्यास गरिएको छ । नगर प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच शिलान्यास गरेका हुन् । भक्तपुरको हनुमानघाट पवित्र तीर्थस्थल हो ।

 

कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरका सास्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु भएको बताउँदै यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणमा भक्तपुर नपाले प्राथमिकताका साथ अगाडि बढिरहेको बताए । हनुमानघाट परिसर यहाँका जनताको आस्थाको केन्द्रको रुपमा रहेको महत्वपूर्ण धार्मिक स्थल भएको बताउँदै उनले यस ठाउँको सुधारको लागि नियमित सरसफाइ, मठ मन्दिर पुनःनिर्माण, पुल निर्माण, सुधारिएको शवदाहगृह निर्माणलगायतका कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको बताए ।

 

मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका सदस्य जीवनराज राजोपाध्यायले हनुमाघाटको इतिहास र महत्वबारे प्रष्ट पार्दै लामो समयदेखि जीर्ण अवस्थामा रहेको लोकेश्वर महादेव पुनःनिर्माण हुनु सुखद पक्ष रहेको बताए । उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम दुवालले मन्दिर पुनःनिर्माणमा स्थानीय जनताबाट सहयोग मिल्ने विश्वास व्यक्त गरे ।