सुनाखरी न्युज/ काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ मा रहेको नारच्याङ झरना नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । रच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना अवलोकनका लागि आउने पर्यटकको चहलपहल बढेको हो । झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको स्थानीय अन्नपूर्ण युवा क्लवका अध्यक्ष टक पुनले बताए ।
‘चार/पाँच वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो,’उनले भने, ‘झरना नजिकै पुग्ने पदमार्ग निर्माण र प्रचारप्रसार भएपछि स्वदेशी र विदेशी पर्यटक आउन थालेका हुन् ।’दैनिक एक सय जना स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकन गर्न आउने पुनले बताए । अन्य समयको तुलनामा विदाको दिन पर्यटक बढी आउने गर्छन् । परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न संघ संस्थाबाट सामूहिक भ्रमणमा आउने गरेका हुन् । नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको अवलोकनका लागि गएका बेनीका सचिन शाक्यले बताए । यो झरनाको उचाइ तीनसय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृष्य देख्न सकिन्छ । पर्यटकहरुले झरनासँगै तस्बिर, भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने भएकाले प्रचारप्रसारमा सहयोग पुगेको छ ।
समुदायले नारच्याङ गाउँदेखि झरना सम्म पुग्ने कच्चि पदमार्ग, दृष्य अवलोकन स्थल र घेराबार निर्माण गरेका छन् । झरनाको नजिकै रहेको भूमे देवताको थान नारच्याङबासीको धार्मिक स्थल हो । सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ । भूमेथान परिसरमा अन्नपूर्ण गाउँपालिकाको सात लाख अनुदानमा घेराबार र दृष्य अवलोकन स्थल बनाइएको छ । सार्वजनिक शौचालय निर्माण भएको छ । विश्रामका लागि भवन निर्माणाधिन छ । बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारी साधन र तीस मिनेट पैदल हिडेर झरनामा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सात वटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ ।