२०८१ माघ २ , बुधवार

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज

सुनाखरी न्युज/ काठमाडौं । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा परेको छ। बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय बज्राचार्य र भण्डारीको संयुक्त इजलासको ४ नम्बरमा पुनरावेदनको मुद्दा परेको हो।

 

यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो। पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।

 

लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो। यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए। उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ।