२०८१ मंसिर ३ , सोमवार

कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । सिन्धुपाल्चोकमा कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु भएको छ।

 

बिहीबार बिहान ९ बजे बलेफी गाउँपालिका-४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। वडा ४ का वडाध्यक्ष सुर्के तामाङले उक्त फर्म सञ्चालन गर्दै आएका थिए। त्यस फर्ममा काम गर्ने २५ वर्षीय निर्जला कार्कीका ३ वर्षीय छोरा निर्जलको मृत्यु भएको हो।

 

उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बुढाथोकीले बताए। सवा १० बजे प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट अन्दाजी ६ लाख १४ हजार बराबरको क्षति भएको छ। आगलागी कसरी भएको भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।