२०८१ आश्विन ६ , आइतवार

अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ । देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा उनले अघि सारेका छन् ।

 

‘काठमाडौंका मात्र कलाकार होइनन् । देशभरका कलाकारलाई म एकजुट बनाउँछु । अनि कलाकार संघबारे कसैलाई पत्तो छैन । म सबै कलाकारमाझ संस्थालाई लिएर जान्छु,’ सविनले भने, ‘मेरो उम्मेदवारी कलाकार संघमा नयाँपुस्ता आउनुपर्छ भन्ने हो ।’आफू कलाकार संघको ‘बालेन’ बनेर चलचित्र क्षेत्रमा योगदान पुर्‍याउन चाहेको समेत उनले बताए ।

 

कलाकार संघको आसन्न चुनावमा पाका कलाकार तथा वर्तमान प्रवक्ता मोहन निरौलाले पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ । कामको कुरा गर्दा सविनको अभिनय रहेको फिल्म ‘बालापन’ प्रदर्शनको तयारीमा छ । उनले निर्माण गरेको ‘हिरो रिटन्र्स’ कोभिड लकडाउनले रोकिएको थियो, जसलाई ओटीटी वा हलमा रिलिज गर्ने भन्नेमा निश्चित भइसकेको छैन ।