२०८१ मंसिर १४ , शुक्रवार

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ बाट

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले मर्जर प्रक्रिया पूरा गरी यही पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

 

मर्जर प्रक्रियामा रहेका यी दुवै बैंकले राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै ‘प्रभु बैंक लिमिटेड’को नामबाट आगामी मंगलबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्। सोही कारण भोलि शुक्रबार राति १० बजेदेखि मंगलबार बिहान ९: ४५ बजेसम्म बैंकबाट प्रदान गरिने सेवाहरु (एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ) समेत बन्द रहने प्रभु बैंकले जनाएको छ।

 

प्रभु बैंकका अनुसार मंगलबार बिहान ९: ४५ बजेपछि बैंकका सबै सेवा यथावत रुपमा सञ्चालन हुने जनाएको छ। प्रभु–सेञ्चुरी बैंकलाई १:१ को स्वाप रेसियामा गाभेको हो। सम्झौताअनुसार एकीकृत कारोबारपछि बन्ने बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४ जना र सेञ्चुरीबाट ३ जना हुनेछन्। त्यस्तै, सीईओका रुपमा हालका प्रभु बैंककै सीईओ रहनेछन् भने सेञ्चुरीका हालका सीईओ बैंकमा सिनियर डेपुटी सीईओका रुपमा रहनेछन्। अहिले प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ। मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।