२०८१ माघ २ , बुधवार

विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा विद्यार्थीकाे गयाे ज्यान

सुनाखरी न्युज/ काठमाडौं । विद्यालयमा पानी भनेर स्प्रिट पिएर सिरहामा एक विद्यार्थीकाे ज्यान गएपछि स्थानीयवासी आन्दोलित भएका छन् । उनीहरूले शिक्षिकाको लापर्बाहीका कारण विद्यार्थीकाे ज्यान गएको भन्दै आज आइतवार बिहानैदेखि मिर्चैयाको पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलन गरिरहेका हुन् ।

 

स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैया ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट कार्यालयमा क्षति पुग्नुका साथै पाँच जना प्रहरी घाइते भएका मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले बताउनुभयो । सिरहाको मिर्चैया नगरपालिका ६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको ज्यान गएको हो । अस्ति शुक्रवार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् ।

 

शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले सिर्जनाको ज्यान गएको स्थानीयवासिले बताएका छन् । सिर्जनाको उपचारका क्रममा हिजो शनिवार कर्जन्हाकाे फुलकुमारी महताे अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।