२०८१ आश्विन ६ , आइतवार

‘महापुरुष’ को ५१ औं दिने सेलिब्रेसन

सुनाखरी न्युज / काठमाडौं –  स्विट्जरल्याण्ड पार्कस्थित एक रिसोर्टमा आयोजित एउटा भव्य समारोहमा फिल्मले सफलताको खुशीयाली साटेको हो । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले नेपालमा मात्र होइन अमेरिका लगायत अन्य केही देशमा समेत केही साताअघि नै प्रदर्शनको ५१ औं दिन पुरा गरेको हो । अहिले पनि यो फिल्म काठमाडौंसहित स्वदेश तथा विदेशका केही सिनेमा हलहरुमा प्रदर्शन भैरहेको छ ।

 

शनिवार फिल्मको सफलताको खुशीयाली मनाउन आयोजित वनभोज कार्यक्रममा फिल्मको यूनिटले फिल्मका मुख्य कलाकार, निर्देशक, प्राविधिकसहित सञ्चारकर्मीहरुलाई समेत मायाको चिनोसहित सम्मान गरेको छ । समारोहमा मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले ‘महापुरुष’ को सफलतामा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद अर्पण गरे । समारोहमा फिल्मका मुख्य अभिनेता हरिवंश आचार्यले यो फिल्मको चरित्रका लागि आफू तीन महिनासम्म घर र फिल्मको छायांकनस्थलबाहेक अन्य कुनै पनि सार्वजनिक समारोहमा सहभागि नभएको बताए ।

 

‘तीन महिनासम्म दाह्रीसमेत काटिन, हरिवंशले ठट्यौली पारामा बढेको दाह्रीका कारण श्रीमती रमिलासंग क्षमासमेत मागे । ‘बलिदानपछि मैले यही फिल्मबाट सबैभन्दा बढी आत्म सन्तुष्ठि पाएँ, समारोहमा अभिनेता आचार्यले फिल्मका निर्देशक प्रदीप भट्टराई लगायत सम्पूर्ण टीमलाई फिल्मको सफलताको शुभकामना अर्पण गरे ।

 

फिल्मको सफलताको श्रेय दर्शकलाई दिँदै अभिनेता मदनकृष्ण श्रेष्ठले ‘महापुरुष’ पछि अझ उत्कृष्ट अभिनय गर्ने जोश बढेको बताउँदै भने– ‘म पार्किन्सन्सको बिरामी भए पनि आगामी दिनमा अझ धेरै राम्रो अभिनय गर्ने जोश बढेको छ । म एउटामात्र होइन थुप्रै वटा महापुरुष जस्ता फिल्ममा अभिनय गर्न चाहन्छु ।’