सुनाखरी न्युज/ काठमाडौं । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ ।
नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५ सय अमेरिकी डलर पाएको छ । विभिन्न देशका १६ टोली सहभागी यो च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस विश्व विजेता बन्न सफल भएको छ । उसले ५ लाख १० हजार डलर पुरस्कार राशी प्राप्त गरेको छ । जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित तीन दिने उक्त ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।
त्यसमा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोली सहभागी थिए । नेपाली विजयी टोलीलाई बधाइ दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । केही दिनअघि मात्रै उनी अनौपचारिक भ्रमणको क्रममा नेपाली खेलाडीहरूलाई हौसला दिन इन्डोनेसिया गएका थिए ।