२०८१ पुष २८ , आइतवार

नौदेखि १५ महिनाका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह

सुनाखरी न्युज/ काठमाडौं । सरकारले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ देखि १५ महिना पुगेका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको हो । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विभिन्न अध्ययनले देखाएको छ । खोपबाट बचाउन सकिने रोगहरूमध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ । यदि कुनै कारणवश खोपको कुनैपनि मात्रा लगाउन छुटेको भएमा जति सक्दो चाडै २४ महिनाभित्र दुबै खोपको मात्रा पूरा गराउन मन्त्रालयको आग्रह छ ।

 

चिकित्सका अनुसार दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट लागने गर्छ । त्यसैगरी, रुबेला पनि भाइरस (रुवेला भाइरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने सङ्क्रामक रोग भएको चिकित्सक बताउछन् । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिने मन्त्रालयले जनाएको छ ।