२०८१ माघ २ , बुधवार

लमजुङमा शिक्षकको हत्या आरोपित ५ वर्षपछि पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । लमजुङमा शिक्षकको हत्या भएको ५ वर्षपछि फरार आरोपित पक्राउ परेका छन्। लमजुङ राईनास नगरपालिका वडा नं. ०९ बस्ने ४२ वर्षीय बेलराम गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए।

 

बेलरामलाई प्रहरीले चितवन भरतपुर महानगरपालिका-१६ विजयनगरबाट बुधबार पक्राउ गरेको हो। उनीमाथि लमजुङकै छिमेकी पर्ने ५४ वर्षीय हितमान श्रेष्ठको हत्या गरेको आरोप छ। श्रेष्ठ पेशाले शिक्षक थिए। २०७४ मंसिर ११ गते राति साढे ९ बजे श्रेष्ठको हत्या भएको थियो। उनको टाउकोमा काठले हिर्काएर गुरूङले हत्या गरेको आरोप थियो। हत्या गरी फरार भएका गुरूङ चितवन आएर बसेका थिए। प्रहरीका अनुसार उनीहरूले त्‍यसदिन सँगै बसेर मापसे गरेका थिए। मापसे गर्दा सामान्य विवाद हुँदा गुरूङले उनको टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीसँग भनेका छन्।

यस्तै त्यसबेलादेखि फरार रहेका उनी चितवनमा ‘लो प्रोफाइल’मा बस्दै आएका थिए। उनले त्यहाँ आफ्नो नाम पनि परिवर्तन गरी बसेका थिए। चितवनमा उनले धेरैलाई आफ्नो नाम आशमान गुरूङ भनेर चिनाएका थिए। कतिपयलाई भने उनले आफ्नो नाम समेत बताएका थिएनन्।