२०८१ मंसिर १३ , बिहिवार

चितवनबाट गृहमन्त्री लामिछानेको अर्को कडा निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहिबार बिहान चितवन पुगेका छन् । गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चितवन पुगेका लामिछाने त्यहाँ झण्ठै आधा दर्जन कार्यक्रममा सहभागिता जनाइरहेका छन् । काठमाडौं विमानस्थलमै बुद्ध एयरको बसमा सर्वसाधारणसंगै विमानसम्म पुगेका गृहमन्त्री लामिछानेले भरतपुर विमानस्थलमा पनि भिआईपी सुविधा लिन मानेनन् ।

 

उनी विमानबाट ओर्लिएपछि भिआईपी कक्षको प्रयोग नगरी सर्वसाधारण निस्किने मार्गबाटै बाहिर निस्किएका थिए । विमानस्थलकै पार्किङ क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरेर लामिछानेले आफू चितवनबाट निर्वाचित भइसकेपछि निर्वाचन क्षेत्रमा गरेको कामको प्रगतिबारे जानकारी गराएका थिए । पत्रकार सम्मेलनको क्रममा आफूलाई अत्यावश्क नभइ भिआईपी सुरक्षा नचाइने बताउँदै उनले नेपालका सबै जनताले आपत परेका बेला सम्पर्क गर्नका लागि हटलाइनको व्यवस्था गर्न लागेको बताए । त्यसक्रममा लामिछानेले अवैध रुपमा कुनै पनि क्रसर उद्योग सञ्चालन हुन नपाउने भन्दै मापदण्ड पुरा गर्न समस्या भए त्यसमाथि छलफल हुने बताए ।

 

यसैबीच, चितवनबाटै गृहमन्त्री लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु तथा चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । चितवनका कुखुरापालक व्यवसायीहरुसँगको छलफलका क्रममा व्यवसायीहरुले गृहमन्त्रीसंग भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यावसायी मर्कामा परेको गुनासो गरेका थिए । छलफलकै क्रममा गृहमन्त्री लामिछानेले बाँके, सिन्धुली तथा सर्लाहीका सुरक्षा अधिकारीहरुलाई फोन गर्दै अवैध आयात रोक्न निर्देशन दिएका थिए ।