सुनाखरी न्युज/ काठमाडौं । पाकिस्तान चरम आर्थिक संकटतर्फ धकेलिंदै गएको छ । आर्थिक संकटका कारण पाकिस्तानमा डलरको संकट चुलिएको छ । जसले गर्दा आयात गरिएका हजारौं टन सामग्री बन्दरगाहमै थन्किएका छन् ।
आटा, घ्यु, चिनी लगायत दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेको पाकिस्तानमा दालको समेत हाहाकार हुन थालेको छ । डलर अभावले छ वटा कन्टेरको दाल बन्दरगाहमा थन्किंदा दालको चरम अभाव भएको हो । बन्दरगाहमा अड्किएको दालको मूल्य डेढ अर्ब डलर रहेको जनाइएको छ । सिपिङ कम्पनीहरुले बन्दरगाहमा थन्किएको दालको ४ करोड ८० लाख डलर जरिवाना लगाएका छन् । पछिल्लो समय पाकिस्तानमा दैनिक उपभोग्य सामग्रीहरुको मूल्य पनि महँगिदै गएको छ ।
उर्जा खपत कम गर्नका लागि सपिङमल, बजार र सामाजिक उत्सवका कार्यक्रमहरु साँझ नपर्दै बन्द गर्न भनिएको छ । पाकिस्तान निरन्तर विदेशी मुद्राको सञ्चिति खुम्चिएर मुस्किलले एक महिनाको मात्र आयात धान्न सक्ने अवस्थामा पुगेको छ । तत्कालका लागि गत वर्षायाममा बाढीबाट पुगेको क्षति बापत प्राप्त हुने नौ अर्ब डलरबाट पनि संकटको सामना गर्ने पाकिस्तानी अधिकारीहरुको योजना रहेको छ । सरकारले विश्व बैंक, आइएमएफ लगायत पश्चिमा दाताहरुसँग निरन्तर सम्पर्क गरे पनि उनीहरुले चासो दिएका छैनन् ।एजेन्सी