२०८१ मंसिर १ , शनिवार

देवघाटमा भक्तजनको भीड

सुनाखरी न्युज/ काठमाडौं । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम जारी छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला विधिवतरुपमा सुरुआत गरिएको थियो ।

 

शनिबार दिउँसोदेखि नै भक्तजन देवघाटधाम आउने क्रम सुरु भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ ।

 

मेलाको अववसरमा राति भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

 

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।