२०८१ मंसिर १४ , शुक्रवार

पुस महिनामा मात्रै ८ वाणिज्य बैंक गाभिए

सुनाखरी न्युज/ काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने पर्ने व्यवस्था गरे। यसका लागि २०७४ असार मसान्त सम्मको समय दिइएको थियो ।

 

चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभुत हुने गरी वाणिज्य बैंकको सङ्ख्या घटेको हो । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैंक मर्जरको चरणमा छन् आठ वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

 

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैंक १ः१ सेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ, कुल निक्षेप ३ खर्ब २ अर्ब र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ । यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।

 

मर्जरपश्चात् बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस आधारमा पनि यो बैंक सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजीकोष ५७ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप सङ्कलन ४ खर्ब १० अर्ब रुपैयाँ, कर्जा प्रवाह ४ खर्ब र कुल सम्पत्ति ५ खर्ब रुपैयाँ पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पुर्याएको छ । त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

 

एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ, चुक्ता पुँजी २२ अर्ब रुपैयाँ, कुल निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ । एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ ।

 

यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई-दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ । दुबै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मइ बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड छ ।