२०८१ मंसिर १३ , बिहिवार

सरकारले दियो भोलि देशभर शोक बिदा

सुनाखरी न्युज/ काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए । आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै  पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको उनले जानकारी दिए।

 

यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आज बिहान १०:५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो। जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए। विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।