२०८१ मंसिर १० , सोमवार

हट्यो आयातका लागि नगद मार्जिन राख्नुपर्ने व्यवस्था

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नै नगद मार्जिन बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले हटाएको छ । एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था हटाएको हो ।

 

अब कुनै पनि वस्तु आयात गर्नका लागि नगद मार्जिन राख्नु पर्दैन । एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाको उद्योगी व्यसायीले चर्को विरोध गर्दै आएका थिए । २०७८ मंसिर र माघदेखि करिब १६ सय वस्तुको आयात गर्दा एलसी खोल्दा नै ५० देखि शत प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

 

आयात अत्याधिक बढेको र यसले विदेशी मुद्रा सञ्चिति घटाएपछि राष्ट्र बैंकले आयात निरुत्साहनस्वरुप यस्तो प्रयास गरेको थियो । अहिले आयात घटेको र विदेशी मुद्रा सञ्चितिमा सुधार भएको भन्दै उक्त व्यवस्था हटाइएको हो । राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था हटाए पनि बैंकले एलसी खोल्दा नगद मार्जिनको व्यवस्था गर्न सक्ने छन् ।