२०८१ मंसिर १२ , बुधवार

 यात्रुमाथि दुर्व्यवहारका गुनासा ट्राफिक प्रहरीमा, गुनासा सम्बोधन र व्यवहार सुधारका लागि सचेतना कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं । चालक तथा परिचालकको व्यवहार सुधारको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।

 

सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक-परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम संचालन गरेको हो । उपत्यकामा संचालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालकले दुर्व्यवहार गरेको भन्दै ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनामा १४८ ओटा गुनासा प्राप्त भएका छन् । यात्रुका गुनासालाई मध्यनजर गरी गत पुस महिनामा संचालन गरिएको सचेतना कार्यक्रममा मात्रै २,३२१ जना चालक तथा परिचालक सहभागी भएका थिए ।

 

चालक, परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघमा पत्राचार समेत गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । सार्वजनिक सवारी साधनमा सम्मानजनक यात्रा गर्न पाउनु यात्रुको नैसर्गिक अधिकार भएकाले सभ्य व्यवहार गरी यात्रा गर्न र गराउन चालक तथा परिचालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गर्नुभएको छ ।

 

उपत्यका ट्राफिक प्रहरी कार्यालय सहित काठमाडौँ उपत्यकाका विभिन्न स्थान र यातायात व्यवसायी संघसस्थाका कार्यालयहरूमा चालक तथा परिचालकहरूका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम संचालन गर्दै आएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक तथा परिचालकबाट दुर्व्यवहार भएमा प्रहरीको हटलाइन नम्बर १०० र १०३ खबर गर्न सकिने छ ।