२०८१ मंसिर २ , आइतवार

कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत, काँग्रेस विपक्षमा !

नाखरी न्युज/ सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । प्रदेशसभाको  शुक्रबार दिउँसो बसेको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक-एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् । नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

 

विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भोट दिएर विपक्षमा बस्न नसक्ने बताए । मुख्यमन्त्रीलाई समर्थन गर्ने वित्तिकै विपक्षीमा बस्न नमिल्ने भन्दै उनले भने, ‘दुनियाँले जे सुकै भनोस्, म निर्वस्त्र हिँड्छु भन्न सक्ने अवस्था रहेन ।’

कर्णाली सरकारको नेतृत्व ५ वर्ष नै माओवादीले गर्ने केन्द्रीय सहमति भएको थियो । तर सत्ता गठबन्धनबीच केन्द्रमा भएको सहमति सच्याउँदै कर्णालीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् । सोही सहमति अनुसार शर्माले साढे दुई वर्ष मुख्यमन्त्री रहने छन् ।

पहिलो पटक संसदीय यात्रा थालेका शर्मा पहिलो प्रयासमै मुख्यमन्त्री बनेका हुन् । शर्मा रुकुम पश्चिम –२ बाट निर्वाचि भएका हुन् ।

 

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गरेका थिए । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् ।