२०८१ मंसिर २ , आइतवार

कांग्रेसकी मुक्ताकुमारी यादवले दिइन् उपसभामुखमा उम्मेदवारी, रास्वपाकी इन्दिरासँग प्रतिष्पर्धा

सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेस सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो ।

 

सत्ता गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिइसकेकी छिन् । सभामुखको निर्वाचनमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका थिए ।

 

 

यादवको प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे रहेका छन् भने नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ल र कांग्रेसका प्रमुख सचेतकसमेत रहेका रमेश लेखक समर्थक रहेका छन् ।

 

कांग्रेसबाट उम्मेदवारी दिएकी यादव पार्टीकी केन्द्रीय सदस्यसमेत हुन् । उनी राष्ट्रिय सभाकी पूर्वसांसद समेत हुन् । उनी २०७४ मा मधेस प्रदेशबाट २ वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । त्यसअघि उनी विक्रम संवत २०७० सालमा समानुपातिक सांसदसमेत भएकी थिइन् ।