२०८१ पुष १४ , आइतवार

अन्तर्राष्ट्रिय बजारमा महँगियो कच्चा तेलको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको भाउ बढेको छ । दुई सातामै कच्चा तेलको भाउ प्रतिब्यारेल करिब १० डलर बढेको छ ।

पुस २० गते डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ डलर हाराहारीमा रहेकोमा १६ दिनपछि माघ ६ गते (साढे २ बजेसम्म) ८१ डलर नाघेको छ । त्यस्तै सोही अवधिमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलरबाट ८६ डलर नाघेको छ । मुर्बान तेलको भाउ प्रतिब्यारेल ७६ डलरबाट ८५ डलर पुगेको छ । कच्चा तेलको मूल्य बढ्दा नेपालको ब्यापार घाटा तथा मुद्रास्फीति बढ्ने जोखिम रहन्छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाउने मूल्यलाई कच्चा तेलको भाउ उतारचढावले असर पार्दछ । निगमले आईओसीले पठाएको सूचीअनुसार यहाँ समायोजन गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा कच्चा तेलको मूल्य बढ्दा ढुवानी भाडा समेत बढ्न गई समग्र मूल्यवृद्धि बढ्न जान्छ ।