२०८१ मंसिर १३ , बिहिवार

भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव

सुनाखरी न्युज/ काठमाडौं । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ। यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ।

 

विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए। ‘भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ’, गजमेरले भने, ‘विदेशसँगै, देशका विभिन्न ठाउँबाट माग आउँछ। मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन।’कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउनेलगायतका तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठले बताए। पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ।

 

‘भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारबाटसमेत हुने गरेको छ’, व्यवसायी श्रेष्ठले भने, ‘खुकुरी बनाउने दक्ष कालिगढको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ। बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन। पेसालाई जोगाएर अर्को पुस्तामा लैजानुपर्ने अवस्था छ।’दशक अघिसम्म धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यवसायिकरूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ। बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा संकटमा पर्दै गएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए।

 

‘खुकुरी बनाउने कालीगढ पेसा संकटमा पर्ने अवस्था छ’, विश्वकर्माले भने, ‘खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन। नयाँ पुस्ताले यो पेसालाई निरन्तरता दिन छाडेको अवस्था छ। अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ।’ पेसालाई लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताए। मानिसले कालीगढ पेसालाई अपहेलनाका रूपमा लिने भएकाले पनि नयाँ पुस्ताको रोजाइँमा नपरेको उनको कथन छ। ‘चार दशक बढी समयबाट यो काम गरिरहेको छु’, उनले भने, ‘यतिका समय यही पेसा गर्दा पनि आर्थिक अवस्था कमजोर नै छ। मेहेनत बढी गर्नुपर्छ। आम्दानी कम छ।’ नयाँ पुस्तालाई यसतर्फ आकर्षित गरेर पेसालाई बचाउन सकिने उनको भनाइ छ। स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताए। व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको समेत अभाव रहेको उनको भनाइ छ।

 

‘राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ’, उनले भने, ‘हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ। हामीलाई दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ।’ सामुदायिक वनबाट सहजरूपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ। आफूहरूले उत्पादन गरेका खुकुरीले पनि मेहेनतअनुसारको मूल्य पाउन नसकेको कालीगढहरूको भनाइ छ। खुकुरी उत्पादन गर्ने कालीगढहरू बिचौलियाको मारमा समेत पर्ने गरेका छन्। मेहेनतअनुसारको आम्दानी लिन समस्या हुने भएकाले पनि कालीगढ पेसामा लाग्नेहरुको सङ्ख्या घट्दै गएको टेम्केमैयुङ–५ मझौलेमा कालीगढ पेसा गर्दै आएका गोर विश्वकर्माले बताए। पुराणा पुस्ताले पुर्खौली पेसालाई संरक्षण गर्दै आएको भए पनि राज्यले संरक्षणमा ध्यान नदिएको उनको भनाइ छ।

 

‘कालीगढ काममा दुःख छ’, उनले भने, ‘पराम्परागत तरिकाबाट फलाम कुटेर परिवार धान्ने अवस्था छैन। सामुदायिक वनका कारण कच्चा पदार्थ जुटाउन नै समस्या छ। राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा सहयोग गरे हुने। त्यही भएर पनि धेरैले अब त पेसा नै छाडिसके।’राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण निर्माण गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विश्वकर्माको भनाइ छ। ‘पेसाको संरक्षण अहिलेको आवश्यकता हो’, विश्वकर्मा भने, ‘यो पेसा गरेर सम्मानपूर्वक बाँच्ने आधार बनाउन आवश्यक छ। राज्यले त्यो वातावरण बनाइदिनुपर्‍यो। राज्यबाट पनि खास प्रोत्साहन छैन। यो काम गरेर आनन्दले बाँच्न सक्ने अवस्था भएमा नयाँ पुस्ता पनि आकर्षित हुने थिए।’

 

जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने कालीगढ पेसा लोप हुँदै जानु दुःखद् रहेको जानकारहरूको भनाइ छ। पेसालाई जोगाउन राज्यले कालीगढहरूको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नुपर्ने उनीहरुले बताउने गरेका छन्। विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीको भनाइ छ। रासस