२०८१ मंसिर १३ , बिहिवार

राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन कांग्रेसले थाल्यो आन्तरिक तयारी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन केन्द्रीत भएर आन्तरिक छलफल अघि बढाएको छ । सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा आन्तरिक छलफललाई तीव्रता दिनुभएको हो ।

 

यही माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीतिमा छ । राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष नेताको बैठक बोलाउनुभएको छ । बुधबारको बैठकमा केन्द्रीय कार्यसमिति बैठकका सन्दर्भमा पनि छलफल हुने नेताहरुले बताएका छन् । माघ १५ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । राष्ट्रपतिको निर्वाचन माघभित्र गर्न दबाब बढाउने कांग्रेसको तयारी छ ।

 

कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले संविधान र ऐनका प्रावधान बाझिएको बहानामा सरकारले राष्ट्रपति निर्वाचन टार्न खोजेको ठहर गरेको थियो । निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने संकेत गरेको छ । राष्ट्रपतिको निर्वाचन माघभित्रै गर्न निर्वाचन आयोगको लिखित ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ । साथै राष्ट्रपतिमा सत्ता गठबन्धनको समर्थन जुटाउन विश्वासको वातावरण बनाउन कांग्रेसको लागिपरेको छ । चार दलीय मोर्चालाई साथमा राखेर राष्ट्रपतिमा माओवादी र जसपाको साथ लिने कांग्रेस दाउमा छ ।

सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा नेकपा (एकीकृत समाजवादी), लोसपा र राष्ट्रिय जनमोर्चा सामेल थिए । राष्ट्रपति निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको समर्थन पाउने कांग्रेसको विश्वास छ । राष्ट्रपति निर्वाचनमा सम्भावित उम्मेदवारका रुपमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम लिनु भएको छ ।