२०८१ पुष २७ , शनिवार

तारकेश्वरमा उच्च क्षमताको सबस्टेसन निर्माण गर्दै प्राधिकरण

सुनाखरी न्युज/ काठमाडौं । काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सबस्टेसन निर्माण गर्ने भएको छ।

 

नियमित रुपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रुपमा हुने विद्युत् विच्छेदजस्ता अवरोधलाई समेत न्यूनीकरण गर्न उक्त सबस्टेसन निर्माण गर्न लागिएको हो। प्राधिकरणले आगामी ३० वर्षसम्मको काठमाण्डौ उपत्यकाभित्रको बिजुलीको मागलाई सहजतापूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाण्डौमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताए। उनले नदी किनारै–किनार १३२ केभी क्षमताका प्रसारण लाइन बनाउने बताए। सोही क्रममा काठमाण्डौ उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो तथा गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सवस्टेशन निर्माण गर्न लागिएको हो।

 

प्रसारण पूर्वाधार तथा सबस्टेसनको अभावमा काठमाण्डौमा बाध्यकारी रुपमा लोडसेडिङ हुनसक्ने अवस्थाको सिर्जना भएको प्राधिकरणको भनाइ छ। उपत्यकाभित्र कुल ६६ केभीदेखि २२० केभी क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्नुपर्ने प्राधिकरणको भनाइ छ। यस्तै विद्यमान प्रसारण लाइन तथा सवस्टशेनको संरचनागत सुधार, स्तरोन्नति एवम् विस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको छ। यही क्रममा साविकको जितपुरफेदी गाविसको वडा नम्बर ५ र गोलढुंगा गाविसको वडा नम्बर ३ मा २२०–१३२–६६–११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ।

 

उक्त सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिमा प्राधिकरणले बुधबार सूचना प्रकाशित गरेको छ। जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ अनुसार कुल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने सूचनामा उल्लेख छ।