२०८१ आश्विन ६ , आइतवार

दयाहाङका दुई फिल्म एकआपसमा भिड्दै

 

सुनाखरी न्युज /  काठमाडौं –  अभिनेता दयाहाङ राईका एउटै मितिमा दुई फिल्म प्रदर्शनमा आउने भएका छन् । ‘जारी’ले वैशाख १ गते आउने घोषणा गरेको केही दिनमै ‘बिहे पास’ले पनि सोही मितिमा प्रदर्शन हुने जनाएको छ । बिहीबार पोस्टर सार्वजनिक गर्दै ‘बिहे पास’ले रिलिज मिति घोषणा गरेको हो । दयाहाङसहित प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म कमेडी र सोसल ड्रामा जनरामा बनेको छ ।

 

बिहेपासको प्रदर्शन मिति तय भएसँगै अब दयाहाङकै दुईवटा फिल्महरु एकआपसमा भिड्ने भएका छन्। सोही मितिमा दयाहाङ र मिरुना मगरको फिल्म ‘जारी’ को रिलिज डेट यसअघि फिक्स्ड भइसकेको छ।बिहे गर्नको लागि सरकारी जागिर गर्नुपर्र्छ भन्ने ग्रामीण नेपाली समाजको मान्यताको कथावस्तुमा फिल्म निर्माण भएको हो । ‘होस्टेल’ डेब्यु गर्ल श्रेष्ठको यो तेस्रो फिल्म हो । उनको पछिल्लो फिल्म ‘उत्सव’ थियो ।

 

एउटै मितिमा आफ्ना दुई फिल्मले प्रदर्शन मिति तय गरेपछि दयाहाङमाथि प्रचारप्रसारमा दबाब पर्ने पक्का छ । निकट स्रोतका अनुसार एकै मितिमा दुई फिल्म आउने भएपछि अभिनेता राई केही असन्तुष्ट छन् । उनले सुरुदेखि नै फिल्म जुधाउन नहुने धारणा राख्दै आएका छन् ।वैशाख १ गते यसअघि नाइँ नभन्नु ल ६ र प्रसाद २ ले पनि रिलिज मिति घोषणा गरिसकेका छन् । निर्माताले धमाधम फिल्मको प्रदर्शन मिति घोषणा गरेपछि चलचित्र संघ भने असन्तुष्ट छ । उसले आफूहरुको परामर्शमा मात्र मिति तोक्न आग्रह गरेको छ ।