२०८१ मंसिर १५ , शनिवार

बैङ्कमार्फत महानगरलाई राजस्व तथा शुल्क तिर्दा भौचर भर्नु नपर्ने

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिकाका राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभागमा राजस्व, सेवा शुल्क तथा दस्तुर तिर्दा बैङ्क भौचर भर्नु नपर्ने भएको छ ।

 

यस प्रणालीको सबैभन्दा पहिला सेवाग्राही विभागको अकाउन्ट डेक्समा गएर विवरण दिनुपर्छ । यो विवरण सफ्टवेयरमा भरेपछि एउटा कोड सिर्जना हुन्छ । यसलाई प्रिन्ट गर्दा कोड, सेवाग्राही नाम र तिर्नु पर्ने रकमको स्लिप आउँछ । यो स्लिप लिएर एनआइसी एशिया बैङ्कको काउन्टरमा लगेर दिनुपर्छ । बैङ्कका कर्मचारीले यो कोड सफ्टवेयरमा प्रविष्ट गराउँछन् । यसबाट उनीहरुलाई महानगरका कर्मचारीले भरेको विवरण प्राप्त हुन्छ । यही विवरणबाट भौचर तयार हुन्छ । यस भौचरमा सेवाग्राहीको फोन नम्बर र हस्ताक्षरबाहेक अरु कुनै पनि विवरण भर्नु पर्दैन ।

 

‘हातले भौचर भर्दा नाम गलत हुने, खाता नम्बर फरक पर्न सक्ने हुने गथ्र्यो । यो त्रुटी सच्याउन फेरि अर्को प्रक्रियामा समय खर्च गर्नुपथ्र्यो । अब यस्तो खालको समस्या हुँदैन ।’ राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘आँखा कमजोर भएर फारम भर्न नसक्ने, लेखपढ गर्न नसक्ने सेवाग्राहीलाई सेवा लिन अप्ठ््यारो थियो । अब उहाँहरुले मौखिक विवरण दिए पुग्छ । सबै काम कर्मचारी र सफ्टवेयरबाट हुन्छ । पारदर्शिता र चुस्त सेवाका लागि यो प्रभावकारी छ ।’ अधिकारीकाअनुसार यो सेवा कार्यालयमै सेवा लिन आउने सेवाग्राहीका लागि हो । अनलाइन प्रणालीबाट भुक्तानी गर्नेले आफ्नै मोवाइलबाट सेवा लिन सक्नुहुनेछ ।

 

महानगरको सफ्टवेयर र साझेदार वैङ्क एनआइसी एशियाको सफ्टवेयर एकीकृत गरेर वडा नम्बर छ बाट सेवा एकीकृत परीक्षण भइरहेको छ । माघ १० गतेदेखि सुरु गरिएको भुक्तानी प्रणालीमा १३ गतेसम्ममा ५० जनाले सेवा लिइसक्नु भएको छ । यसबाट प्राप्त नतिजाका आधारमा सेवा विस्तार गर्दै लगिने योजना रहेको राजस्व विभागका प्रम्ख अधिकारीको भनाइ छ ।