२०८१ आश्विन ६ , आइतवार

मनिषा कोइराला नेपाली फिल्ममा फर्किन तयार

 

सुनाखरी न्युज / बलिउड इन्डस्ट्रीमा सम्मानित छवि बनाएकी अभिनेत्री मनिषा कोइराला पाठेघरको क्यान्सरलाई जितेपछि अभिनयमा सक्रिय छिन । उनी अभिनीत नयाँ बलिउड फिल्म ‘शहजादा’ फेब्रअरी १७ तारिखबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले अभिनेता कार्तिक आर्यनको आमाको भूमिका निर्वाह गरेकी छन । भारतमा कार्तिक फिल्मको प्रचार प्रसारमा दौडिरहँदा मनिषा भने नेपालमा छिन ।

 

शुक्रबार दरबार सिनेम्याक्समा डा। कपिल रिजालद्वारा निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ हेर्न पुगेकी उनले नेपाली फिल्ममा फर्किने इच्छा व्यक्त गरिन । एक पत्रकारले अब नेपाली फिल्म पनि काम गर्ने होइन ? भनेर सोधेको प्रश्नमा उनले संक्षिप्त जवाफ फर्काइन्, ‘किन नगर्ने र ? गर्ने नि । राम्रो आयो भने गर्ने ।’ अहिले नेपाली फिल्म स्तरीय बन्न थालेकोमा पनि उनले खुसी व्यक्त गरेकी छन् ।फिल्म हेरिसकेपछि उनले साम्राज्ञी शाह र जितु नेपालको अभिनयको प्रशंसा गरेकी थिइन् । मनिषा यतिबेला सञ्जयलीला भन्सालीको नेटफ्लिक्स फिल्म ‘हीरामण्डी’मा व्यस्त छिन । उनको पछिल्लो बलिउड फिल्म ‘शेहजादा’ फेब्रुअरी १७ मा रिलिज हुँदैछ, जहाँ कार्तिक आर्यन प्रमुख भूमिकामा छन ।

 

सन् १९९० मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’बाट मनिषाले अभिनय करिअर थालेकी थिइन । उनको पछिल्लो नेपाली फिल्म दीपेन्द्र के खनाल निर्देशित ‘धर्मा’ थियो । निकट स्रोतका अनुसार केही ब्यानरले मनिषालाई नेपाली फिल्ममा समेत अफर गरिरहेका छन् तर मनिषाले कुनै स्क्रिप्टलाई पनि ‘ओके’ भनेकी छैनन ।