२०८१ मंसिर १० , सोमवार

१० फागुनदेखि मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्ने, क-कसले दिन पाउँछन् आवेदन ?

IPO

सुनाखरी न्युज / काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १० फागुनदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो ।

 

कम्पनीले आफ्नो जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार तीन सय रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ५ लाख ४२ हजार ५ सय ८३ कित्ता सेयर आयोजना पीडित क्षेत्र सङ्खुवासभावासीका लागि निष्कासन गर्न लागेको हो । त्यसमा पनि अति पीडित सङ्खुवासभाको साबिक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९२ कित्ता र त्यसबाहेक सङ्खुवासभाका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९१ कित्ता छुट्याइएको छ ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार पाँच सय १७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । स्थानीय लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन । जसमा आयोजना पीडित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा २५ हुनेछ भने ढिलोमा आगामी ९ चैतमा हुने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले आयोजना स्थलमा रहेको कम्पनीको कार्यालय, मादी नगरपालिका–७, चैनपुर नगरपालिका–३ मा रहेको रेडक्रस भवन, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबीआई बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र अनलाइनबाट ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयर एनपी बिबी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभामा चार दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । रासस