सुनाखरी न्युज/ काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था(NICLBSL)को सञ्चालक समितिकाे अध्यक्षमा सन्तोष कुमार राठी र सदस्यमा दिनेश भारीलाई नियुक्त भएका छन्। लघुवित्तको फागुन ८ गते बसेको १६६औँ सञ्चालक समितिको बैठकले राठी र भारीलाई नियुक्त गरिएकाे हाे ।
संस्थापक एनआईसी एशिया बैंक(NICA)को फागुन ५ गते बसेको सञ्चालक समितिको ५९० औँ बैठकको निर्णय अनुसार फागुन ५ बाटै लागु हुने गरी संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा यस लघुवित्तको उक्त बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मकोलागि उनीहरूलाई चयन गरिएकाे हाे । यसकासाथै, उक्त सञ्चालक समिति बैठकबाट नै सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक सन्तोष कुमार राठीलाई यस संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको छ । उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आई रहेका थिए । नवनियुक्त सञ्चालक (अध्यक्ष) सन्तोष कुमार राठीले फागुन ८ गते नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसँग शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् ।
यसैगरी, सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन्। सन्तोष कुमार राठी र दिनेश भारी हाल एन आई एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत छन् । सन्तोष कुमार राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने दिनेश भारीको कानून तथा बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले १६६औँ सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ्ग अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रुपमा स्वागत गरेका थिए ।
साथै, उनीहरुको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्तीय संस्थाहरु माझमा अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय रहेको छ ।