सुनाखरी न्युज/ काठमाडौं । कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बसेको हुन्छ । हामी निन्द्रा नपुगेका कारण आँखाको तल्लो भाग कालो भएको भन्ने बुझ्ने गर्छौँ । तर विभिन्न भिटामिनहरूको कमीले गर्दा यस्तो दाग बस्ने हुन्छ । आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिलाले आफू नराम्रो वा कुरूप भएको महसुस पनि गर्छन् । विभिन्न कारण र खानेकुराको कमीले आँखामुनि कालो घेरा बस्छ ।
‘कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छन् । दिउँसोको समयमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै प्रष्ट देखिन्छ । जब तपाईँको शरीर सुख्खा हुन्छ वा शरीरमा पानीको मात्रा न्यून हुन्छ, छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ ।
तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म बस्छ । अझ साँझपख कफी खानुभएको छ भने त यसको असर भोलि बिहान आँखामा देख्नुहुन्छ । शरीरमा आइरनको कमी भयो भने आँखामुनि कालो घेरा देखिन्छ । आइरनको कमीका कारण छालाका कोशिकाले पर्याप्त अक्सिजन पाउँदैनन् । एनिमिया पीडित र आइरनको अत्यधिक कमी भएका महिलाका आँखा वरिपरिको छाला मृतप्रायः देखिन्छ । आइरनका लागि पालंगो, दाल, गेडागुडीलगायत खानुपर्छ ।